सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गरेकाे सांसद साहको आरोप

282 Shares

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाउनुभएको छ। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद शाहले यस्तो आरोप लगाउनुभएको हो । उत्पादन लागत वृद्धि, व्यापार मन्दी र उद्योग क्षेत्रको चौपट अवस्थाको मुख्य कारण कर आतंक भएको उहाँको भनाइ छ । 

सांसद शाहले सरकारले बजेटमार्फत घरेलु पुँजीको संरक्षण गर्नुपर्नेमा उल्टै पुँजी पलायनलाई सहयोग पुग्ने नीति अवलम्वन गरेकोसमेत आरोप लगाउनु भयो । 

उहाँले सरकार र भ्रष्टाचार पर्यायवाचीजस्तो बनेकोसमेत टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको भन्दै आपत्ति जनाउनु भयो ।