युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्व हाेः अध्यक्ष दाहाल

345 Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जान जरुरी भइसकेको बताउनुभएको छ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवर्द्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जान जरुरी भइसकेको बताउनु भयो । उहाँले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्ने बताउनु भयो । 

नेपाली युवामा रहेको नवीन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदूपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्न जरुरी रहेको भन्दै युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउन आवश्यक रहेको बताउनु भयो । युवाहरुको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व भएको बताउनु भयो । समयसापेक्षरुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन जरुरी रहेको बताउनु भयो । 

अध्यक्ष दाहालले सूचना र प्रविधिका नविन प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्दै कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्न आग्रह गर्नुभयो । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र बौद्धिक सम्पत्ती संरक्षण प्रदान गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सो को कार्यान्वयन र अनुगमनमा समेत जोड दिनुपर्ने बताउनु भयो । 

नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै वैज्ञानिक आविष्कारहरुलाई उद्यमशिलतामा परिणत गर्न जुट्नुपर्ने बताउनु भयो । अनुसन्धान र आविष्कारको क्षेत्रमा प्रगति गर्न शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता, उद्योग र अनुसन्धान संस्थानहरुबीच समेत समन्वय र सहकार्यलाई बढाउन आवश्यक रहेको बताउनु भयो ।