राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप

422 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले बेपत्ता नागरिकसम्बन्धी मुद्दामा राज्य संवेदनहीन बनेको आरोप लगाउनुभएको छ। 

मंगलबार काठमाडौंमा आयोजित बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव चन्दले शान्ति प्रक्रियाको १९ वर्षपछि पनि राज्यले जिम्मेवारी नलिएर बेपत्ता परिवारप्रति उपेक्षा गरेकाे आरोप लगाउनु भयो । 

चन्दले बेपत्ता नागरिकका छानबिन आयोगहरू बारम्बार गठन र विघटन हुनु राजनीतिक षड्यन्त्र र जालसाजीको संकेत भएको टिप्पणी गर्नुभयो । उहाँले आयोग बनाउने र भत्काउने क्रम किन राकिँदैन, कस्तो व्यक्ति चाहिएको हो आयोगमा ? भन्दै प्रश्नसमेत गर्नुभयो ।  राजनीतिक नेतृत्वमा रहेको कुनियत र स्वार्थका कारण बेपत्ता नागरिकका मुद्दा समाधान गर्न नसकिएको महासचिव चन्दको भनाइ छ । 

नेपालमा गुलामीको संस्कृति भित्रिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक आन्दोलनको माध्यमबाट स्वाधिनतामा झार्नुपर्ने आवश्यकता रहेकोसमेत बताउनु भयो ।