सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ

268 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाउनु भएको छ ।

मंगलबार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो आरोप लगाउनुभएको हो । राज्यको नेतृत्वकर्ताहरु शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उहाँको आरोप छ । उहाँले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्तसमेत गर्नुभयो । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरु एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेकोसमेत आरोप लगाउनु भयो । 

महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएकोसमेत बताउनु भयो ।