भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा

277 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनका लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताउनुभएको छ ।

मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझ्ने बताउनु भयो । विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको बताउँदै सरकारले पनि आफूहरूका मागलाई सुन्नुपर्ने बताउनु भयो । 

उहाँले उक्त प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान रहेको जिकिर गर्नुभयो । उहाँले यो आफूहरूको मात्रै नभएर १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिनु नपरोस् भन्ने जनताको माग रहेकोसमेत बताउनु भयो । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नामसमेत जोडिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसदमा अवरोध जनाउँदै आएको छ ।