काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा पनि मुद्दा दर्ता भएको छ ।
सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको मुद्दामा सानो पाइलाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गरिएको छ । पूर्वसञ्चालक तथा संरक्षक जीबी राई रहेको सानो पाइला सहकारीका करिब ८ सय बचतकर्ता रहेका छन् ।
प्रहरीले गत वैशाख १४ गते नै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएपनि मुद्दा दर्ता गर्न भने समय लागेको हो ।
रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी अहिले भैरहवा कारागारमा थुनामा छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया