काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रश्तावमाथि छलफल नहुने बताउनुभएको छ।
बुधबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताउँदै माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको जिकिर गर्नुभयो । उहाँले विपक्षी दलहरूले फेरि छलफलको लागि एक दिनको समय मागेको कारण बिहीवारको संसद बैठक अपरान्ह बोलाइएको बताउनु भयो ।
उहाँले माओवादी केन्द्रको दुई बुँदे प्रश्तावमा विपक्षी दलहरूले सहमति जनाउन कोसिस गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपक्षीहरूसँग सहमति नभएको खण्डमा पनि अब संसद् लामो समय अवरुद्ध हुन नसक्ने बताउनु भयो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । सोही अनुसार बुधबारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध भयो । संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया