काठमाडौँ । बाहिरी मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।
उक्त प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीबार स्वदेश फर्किनुभएका स्वास्थ्था जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्य देशहरुमा कामदार पठाउने मुलुकहरुले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिती रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।
यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको बताउनु भयो । प्रश्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बतउनु भयो । यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्णरुपमा उपचार नहुने स्थिती र खर्चका कारणले उपचार नहुने स्थिती एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिती तथा रोग बोकेर आउनुपर्ने स्थिती र बाध्यतालाई अन्त्य हुने बताउनु भयो ।
मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताउनु भयो । नेपालले लैजान लागेको प्रश्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरुका निम्ति आवश्यक रहेको बताउँदै उहाँले छिमेकी मुलुक भारतका प्रतिनिधिहरुसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा दुई देशबीचमा सम्झौता गर्नेगरी अघि बढ्ने कुरा भएको बताउनु भयो । छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बंगलादेश, श्रीलंका, मल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरुसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया