मकवानपुरको विकट क्षेत्रका रूपमा रहेको कैलाश गाउँपालिकाका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका र हेटौंडास्थित सिएमसी हस्पिटलबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा. आकेश प्रजापतीले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौतासँगै गाउँपालिकाका नागरिकहरूले हस्पिटलबाट उपलब्ध हुने विभिन्न विशेषज्ञ स्वास्थ्य उपचार सेवामा विशेष सहजीकरण र सहुलियत प्राप्त गर्नेछन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले दुर्गम क्षेत्रका नागरिकको विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यो सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विकास अन्तर्गत हाल आफ्नै १० शैय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ ।
नागरिकले गाउँपालिकाद्वारा जारी गरिएको परिचय खुल्ने नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र पेश गरेर सिएमसी हस्पिटलबाट स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ । यसैबीच, गाउँपालिकाको आयोजना तथा सिएमसी हस्पिटलको प्राविधिक सहयोगमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक–कान–घाँटी, र अर्थोपेडिक तथा ट्रमा सर्जरी विशेषज्ञहरूले सेवा प्रदान गरेका थिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमकाअनुसार उक्त शिविरबाट ३ सय ५० जनाभन्दा बढी स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् । अध्यक्ष मुक्तानले शिविरमा सहभागी नागरिकहरूलाई थप उपचार आवश्यक परेमा गाउँपालिकामै सञ्चालित अस्पतालबाट सेवा लिनसमेत आग्रह गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया