चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

14 Shares

नेपाल चिकित्सक संघले मंगलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा संघले यस्तो कदम चालेको हो।गत शनिबार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो। उक्त घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको संघले जनाएको छ।संघले घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै आन्दोलन घोषणा गरेको हो। साथै, जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको आरोपसमेत संघले लगाएको छ।आन्दोलनका कारण देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा प्रभावित भएका छन्। काठमाडौंका स्तूपा सामुदायिक अस्पताल, एभरेष्ट हस्पिटल, भेनस हस्पिटललगायतका स्वास्थ्य संस्थामा हजारौँ बिरामी प्रभावित भएका छन्।नेपाल चिकित्सक संघले दोषीमाथि कारबाही नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।