देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा

325 Shares

काठमाडौँ । काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा शुक्रबार हावाहुरीसहितको वर्षा भएको छ । हावाहुरीका कारण जनजीवन केही प्रभावितसमेत भयाे । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए । उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए ।

उनले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका पनि जानकारी दिए । चितवनमा हावाहुरीले क्षति गराएको छ । 

शनिबार पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । अहिले भने कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली भएको र ती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । 

प्राप्त विवरण अनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङ ३७, म्याग्दी ३०.२ गोरखामा ३१.६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ ।  काठमाडौँमा शनिबार अपरान्हतिर शुक्रबारको जस्तै बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिइन् ।