काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले शाहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताउनुभएको छ ।
नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गर्नुभएको हो । उहाँले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । गल्ती भएका कुराहरुमा आफूहरु सुध्रिन तयार रहेकोसमेत दाबी गर्नुभयो ।
उहाँले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एकभएर अघि बढ्ने समय आएको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया