अन्नपूर्णको काखमा सुनौलो दाइँ उत्सव

10 Shares

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर २९, नौबिसे सिसुवा तालचोकका फाँटहरू यतिबेला धानबाली भित्र्याउने चटारोले गुल्जार बनेका छन् ।

उत्तरतर्फ टल्किएको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राख्दै पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न ‘दाइँ महोत्सव’ ले गाउँमा बेग्लै रौनक थपिदिएको छ ।

खलोको बीचमा गाडिएको रातो–पहेंलो मियोमा आठवटा गोरु नारेर घुमाउँदा परम्परागत नेपाली कृषि संस्कृतिको जीवन्त झल्को दिन्छ ।

गलामा सयपत्री माला र निधारमा रातो टीका लगाएका स्वदेशी तथा विदेशी पर्यटकहरू हातमा लौरो र परालका मुठ्ठा लिएर गोरुको पछिपछि हिँड्दा खलोभरि हाँसो र उत्साह छाएको छ ।

कतै किसानसँगै पहेँलो धानका मुठ्ठा उचालेर झाँटिरहेका पाहुना त कतै छरिएका धान र पराल समेट्दै सघाएका दृश्यले श्रमलाई नै उत्सवमा बदलिदियो ।

रातो र गुलाबी साडीमा सजिएका स्थानीय आमा–दिदीबहिनीहरूको साथ र सात समुन्द्रपारिबाट आएका पाहुनाको आत्मीय सहभागिताले सबैको मन छुन्छ ।