काठमाडौं । सप्तरी जिल्लामा २०१ जना एचआईभी सङ्क्रमित रहेको पाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ जना पुरुष, ८४ जना महिला र १० जना बालबालिका रहेका छन् ।
अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमार्फत उनीहरूले नियमित उपचार सेवा लिइरहेको केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिइन् ।
उनका अनुसार उपचारका लागि अस्पतालको सम्पर्कमा आएका सङ्क्रमितमध्ये सबैभन्दा बढी २० देखि ५० वर्ष उमेर समूहका रहेका छन् । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ ।
यादवका अनुसार विसं २०८१ मा १८९ जना र २०८२ मा १९५ जना एचआईभी सङ्क्रमित अस्पतालको सम्पर्कमा थिए । चालु तथ्याङ्कमा यो सङ्ख्या बढेर २०१ पुगेको छ ।
बालबालिकालाई समेत नियमित उपचार
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत अस्पतालमा सञ्चालित उपचार केन्द्रबाट १० जना बालबालिकाले समेत नियमित उपचार सेवा लिइरहेका छन् ।
केन्द्रकी वरिष्ठ स्टाफ नर्स यादवका अनुसार सबै सङ्क्रमित उपचार केन्द्रको सम्पर्कमा नआएका कारण वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । कतिपय व्यक्ति सामाजिक तथा अन्य कारणले आफ्नो सङ्क्रमणबारे जानकारी गराउन वा उपचारका लागि सम्पर्कमा आउन नचाहने गरेको उनले बताइन् ।
नियमित उपचारमा नआउनेलाई घरमै औषधि
एचआईभी सङ्क्रमितलाई नियमित उपचारमा जोड्न अस्पतालले विभिन्न प्रयास गर्दै आएको छ । उपचारका लागि नियमित रूपमा केन्द्रमा आउन नसक्ने सङ्क्रमितलाई आवश्यकताअनुसार घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
एचआईभी सङ्क्रमितले नियमित औषधि सेवन तथा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गराउनु महत्त्वपूर्ण हुने भएकाले उपचार सेवाबाट टाढा रहेका व्यक्तिलाई समेत सम्पर्कमा ल्याउने प्रयास भइरहेको अस्पतालले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा विसं २०५२ सालदेखि एचआईभी सङ्क्रमितको उपचार सेवा सुरु गरिएको हो । लामो समयदेखि सञ्चालनमा रहेको उपचार केन्द्रले जिल्लाका सङ्क्रमितलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो तथ्याङ्कले सप्तरीमा एचआईभी परीक्षण, सचेतना, गोपनीयतासहितको उपचार सेवा र सङ्क्रमितलाई नियमित स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया