चालू आर्थिक वर्षभित्र रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्य, भौतिक प्रगति ६५ प्रतिशत नाघ्यो

11 Shares

काठमाडौं । कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ । परियोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जनाएको छ ।

परियोजनाको अनुगमनका क्रममा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष आयोजनाले हालसम्मको प्रगति विवरण प्रस्तुत गरेको हो । आयोजनाका अनुसार कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पर्यापर्यटनका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिएको रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । उनले परियोजनाको नमुना सफल भए अन्य तालहरूमा पनि यस्तै प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने धारणा राखे ।

मन्त्री श्रेष्ठले निर्माण कार्यमा ढिलाइ नगरी तीव्र गतिमा अघि बढ्न कर्मचारी तथा निर्माण व्यवसायीलाई निर्देशन दिँदै परियोजना सम्पन्न गर्न आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संरक्षण र पर्यापर्यटन प्रवर्द्धन मुख्य उद्देश्य

आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो । पोखरा महानगरपालिकाका वडा नम्बर ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर परियोजना अघि बढाइएको हो ।

रुपातालको संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धन गर्नु परियोजनाको प्रमुख उद्देश्य रहेको छ । यसअन्तर्गत ६३५ मिटर लामो बाँध निर्माण, स्पिलवे तथा पुल निर्माण, तालमा थुप्रिएको माटो व्यवस्थापन, सडक र पदमार्ग निर्माण, पर्यापर्यटन बगैँचा तथा तालको बीचमा कृत्रिम टापु र मन्दिर निर्माणलगायतका संरचना प्रस्ताव गरिएको छ ।

बाँध र स्पिलवे निर्माण अन्तिम चरणतर्फ

परियोजनाअन्तर्गत अहिले बाँध तथा स्पिलवे निर्माणको काम अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काममा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।

स्पिलवे कम ब्रिजको निर्माण अन्तिम चरणमा पुगेको छ भने मुख्य बाँध तथा कार्यालय भवन निर्माणको काम पनि भइरहेको छ । परियोजनाका प्रमुख संरचनामध्ये बाँध र स्पिलवेको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

त्यसैगरी तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको काम पनि जारी छ ।

३९ करोड ६७ लाख रुपैयाँ लागतमा भइरहेको माटो व्यवस्थापन तथा ड्रेजिङ कार्यको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

जलाधार संरक्षणका संरचना निर्माण सम्पन्न

आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी तथा १०६ वटा बेड बार र चेक ड्याम निर्माण सम्पन्न भएका छन् ।

त्यस्तै, निर्माण गर्नुपर्ने दुईवटा पक्की पुलमध्ये एउटा पुलको काम सकिएको छ । आठ किलोमिटर नदी नियन्त्रण गर्ने लक्ष्यअनुसार हालसम्म ६ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ ।

यी संरचनाले जलाधार क्षेत्रको संरक्षण, बाढी नियन्त्रण तथा तालमा बगेर आउने गेग्रान र माटोको मात्रा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जग्गा अधिग्रहणमा अर्बौँ खर्च

परियोजनाका संरचना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको छ । स्वीकृत डीपीआरअनुसार कुल १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता १ हजार २०० रोपनी रहेको छ ।

आयोजनाका अनुसार हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ । यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको छ भने मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ ।

परियोजनाका लागि कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको विवरण आयोजनाले सार्वजनिक गरेको छ । आयोजनाले उपलब्ध गराएको विवरणअनुसार यससम्बन्धी खर्च करिब १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

तर इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषय चुनौतीका रूपमा देखिएको छ । वनसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने तथा रुख कटानसँग जोडिएका विषयले उक्त काम अघि बढाउन कठिनाइ सिर्जना गरेको आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्षमा ६८ करोडभन्दा बढी बजेट

यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रम सञ्चालनका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको जनाएको छ ।

आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार यस वर्ष जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकासलाई प्रमुख कार्यक्रमका रूपमा अघि बढाइएको छ ।

आयोजनाको कार्यक्षेत्र कास्कीमा मात्र सीमित नभई स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ । आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारीसमेत गरिएको छ ।

रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न भएपछि तालको संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यद्यपि बाँध तथा अन्य संरचनाको निर्माण, इको फुटट्रेलमा देखिएका वनसम्बन्धी प्रक्रिया र बाँकी काम निर्धारित समयमै पूरा गर्नु आयोजनाका लागि मुख्य चुनौती रहने देखिन्छ ।

समग्रमा ६५.४८ प्रतिशत प्रगति हासिल गरेको परियोजनालाई चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न निर्माण कार्यलाई थप तीव्रता दिनुपर्ने देखिएको छ ।