काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनसम्बन्धी सरोकारवालाबाट प्राप्त सुझाव समेटेर निर्वाचन आयोगको चौथो रणनीतिक योजनाका कार्यक्रमलाई परिमार्जनसहित प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन आयोगले आज ललितपुरमा आयोजना गरेको आयोगको चौथो रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श बैठकको समापनका अवसरमा प्रमुख आयुक्त कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
उनले रणनीतिक योजनामा समावेश गरिएका कार्यक्रम तथा गतिविधि कार्यान्वयन गर्न नसकिने प्रकृतिका नरहेको निष्कर्ष सुनाउँदै कार्यान्वयनको ढाँचा र प्रक्रियामा सुधार गरेर अघि बढ्नुपर्ने बताए। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा योजनालाई आवश्यक परिमार्जन गरी कार्यान्वयनमा लैजाने उनको भनाइ थियो।
प्रमुख आयुक्त कार्कीका अनुसार रणनीतिक योजनाको समीक्षा तथा छलफलका क्रममा केही कार्यक्रम आंशिक रूपमा कार्यान्वयन भएको र केही कार्यक्रम अझै सुरु हुन नसकेको विषयमा विस्तृत छलफल भएको छ।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ कार्यक्रममध्ये १६ वटा आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा कार्यक्रम सुरु हुन सकेका छैनन्। कार्यान्वयन हुन नसकेका कार्यक्रम किन अघि बढ्न सकेनन् भन्ने विषयमा आयोगले गम्भीरतापूर्वक ध्यान दिने उनले बताए।
उनले भने, “कार्यक्रम कार्यान्वयन गर्न नसकिने प्रकृतिका छैनन्, कार्यान्वयनको ढाँचा तथा प्रक्रियामा सुधार आवश्यक छ भन्ने विषयमा सहभागीहरूबाट सुझाव प्राप्त भएको छ।”
रणनीतिक योजनाका पाँचवटै मूल स्तम्भलाई आधार बनाएर गरिएको छलफलमा सहभागी वक्ताहरूले कार्यक्रम असम्भव वा अनावश्यक रहेको नभई तिनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रक्रियागत सुधार आवश्यक रहेको सुझाव दिएको पनि उनले उल्लेख गरे।
सरोकारवालाबाट प्राप्त सुझावले रणनीतिक योजना कार्यान्वयनमा थप आत्मविश्वास बढाएको बताउँदै प्रमुख आयुक्त कार्कीले ती सुझावलाई समेटेर योजनालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउन जोड
कार्यक्रममा निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउन अब हिचकिचाउन नहुने बताए। उनले मतदान प्रक्रियालाई सहज, पहुँचयोग्य र आधुनिक बनाउन विभिन्न विकल्पलाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।
उनले पोस्टल भोटिङ, अन्तरजिल्ला मतदान, विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान सुविधा, भिभीप्याटसहितको विद्युतीय मतदान प्रणाली तथा इन्टरनेट भोटिङजस्ता विकल्प अघि बढाउनुपर्ने धारणा राखे।
निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोग विस्तार गर्दा मतदाताको पहुँच, सहभागिता र समावेशितालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।
निर्वाचन प्रणाली सुधारबारे छलफल
बैठकमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन पद्धति र प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनले निर्वाचन प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।
त्यसैगरी, निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको कार्यान्वयन अवस्थाबारे आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रस्तुतीकरणमार्फत जानकारी दिएका थिए।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले रणनीतिक योजनाको कार्यान्वयन अवस्था, देखिएका चुनौती तथा सुधार गर्नुपर्ने विषयमा प्रश्नोत्तर गरेका थिए। उनीहरूले विषयगत समूहमा छलफल गर्नुका साथै समूहगत प्रस्तुतीकरणमार्फत आफ्ना सुझाव र धारणा राखेका थिए।
सरोकारवालासँगको परामर्शबाट प्राप्त सुझावलाई समेटेर रणनीतिक योजनाको कार्यान्वयन प्रक्रिया थप व्यवस्थित र प्रभावकारी बनाउने आयोगको तयारी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया