जेनजी शहीद परिवार र घाइतेका लागि राहत प्याकेज कार्यान्वयनमा तीव्रता दिँदै सरकार

14 Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहत प्याकेज कार्यान्वयनका लागि आवश्यक समन्वय र पहल भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार एकीकृत राहत प्याकेज कार्यान्वयनका लागि गठित समन्वय समितिको पछिल्लो बैठक मंसिर ८ गते बसेको थियो । बैठकले कार्यान्वयनमा गइसकेका कार्यक्रमलाई निरन्तरता दिने र बाँकी कार्यक्रम सबै मन्त्रालयको समन्वयमा अघि बढाउने निर्णय गरेको छ ।

सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदामाथि समेत गृहकार्य गरिरहेको प्रवक्ता अर्यालले बताए ।

उनका अनुसार उक्त मस्यौदा परामर्शका लागि अर्थ, गृह र कानून मन्त्रालयमा पठाइएकोमा अर्थ र कानून मन्त्रालयबाट राय प्राप्त भइसकेको छ । गृह मन्त्रालयको राय प्राप्त भएपछि आवश्यक परिमार्जन गरी पुनः कानून मन्त्रालयमा पठाइने उनले जानकारी दिए ।

उनले नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदाबारे थप स्पष्ट पार्दै गृह मन्त्रालयको राय प्राप्त भएपछि आवश्यक परिमार्जनसहित कानून मन्त्रालयमा पठाइने बताए ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको व्यवस्थापन परीक्षणसमेत सुरु गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । व्यवस्थापन परीक्षणमार्फत सरकारी निकायबाट सम्पादन हुने काम कानुनअनुसार भए–नभएको मूल्याङ्कन भइरहेको उनले बताए ।

त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार बिहानसम्म १८ अर्ब ६२ करोड ८ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको जानकारी पनि अर्यालले दिए ।