चलचित्रकर्मीको सामाजिक सुरक्षा र लगानी बीमाको व्यवस्था गर्न सांसदहरूको माग

60 Shares


सांसदहरूले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न चलचित्रकर्मीको सामाजिक सुरक्षा र निर्माताको लगानी सुरक्षालाई कानुनमै समेट्नुपर्ने बताएका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलमा सांसदहरूले चलचित्र क्षेत्रमा नीतिगत सुधार, बीमा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले चलचित्रलाई पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडेर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र सेन्सरका नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि अनावश्यक हस्तक्षेप गर्न नहुने धारणा राख्नुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले चलचित्र र पर्यटन उद्योगलाई जोडेर नेपाललाई खुला चलचित्र स्टुडियोका रूपमा विकास गर्न सकिने बताउनुभयो । त्यसका लागि आवश्यक पूर्वाधार, कानुनी व्यवस्था र चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ छ ।

रास्वपाकी सांसद डा. तोसिमा कार्कीले नेपाली चलचित्र निर्माताको लगानी सुरक्षित गर्न बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । नेपाली चलचित्रले पर्याप्त प्रदर्शन अवसर नपाएको उल्लेख गर्दै उहाँले स्वदेशी चलचित्रको पहुँच र प्रवद्र्धनमा राज्यले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा सांसदहरूले नेपाली चलचित्रको गुणस्तर सुधार, विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण तथा चलचित्रकर्मीको सामाजिक सुरक्षा सुनिश्चित गर्न विधेयकमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।