एमाले हार्नको लागि जन्मिएकै होइन, फेरि जित्छौँः अध्यक्ष ओली

18 Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हार्नको लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै फेरी सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेकपा (एमाले) को राष्ट्रिय जनप्रतिनिधि भेलाललाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकको विकास गर्नुका साथै राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी समेत एमालेकै भएको भन्दै सो जिम्मेवारी पूरा गरेरै छोड्ने जिकिर गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा स्थानीय तह मुख्य प्रतिस्पर्धाको थलो भएको भन्दै जनप्रतिनिधिहरूलाई आफ्नो काममा देखिएका कमजोरी सच्याउन निर्देशन दिनुभयो । उहाँले विगतमा भएका कमजोरी भए सच्याउन र जनतामाझ विश्वास कायम गर्नेगरी काम गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले जनप्रतिनिधिहरूले राम्रो काम गरेको अवस्थामा पुनः सोही पदमा निर्वाचित हुने सम्भावना रहने भन्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान तथा संघ र प्रदेशका कानूनसँग नबाझिने गरी स्थानीय तहले आफ्नै कानून र ऐन निर्माण गरेर काम गर्नसक्ने भन्दै आवश्यकताअनुसार ऐन निर्माण गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब भोलि निर्वाचनमा लडाइँको थलो स्थानीय तह बन्ने वाला छ । यदि हिजो केही कमजोरी रहे भने केही पोखिएको छ भने हतार हतार उठाउनुस् है साथिहरु । पोखिएको हुनसक्छ कतै हतार हतार उठाउनुस्, हतार हतार मिलाउनुस् । कुनै पद बाहेक राम्रो काम गर्नुभएको छ भने फेरि त्यही पदमा दोहोरिने सम्भावना पनि होला । त्यहाँका पार्टी कार्यकर्ता, नागरिकले दोहोर्याउनुपर्छ भन्ने स्थिति आएको भए त्यसो हुन पनि सक्छ । जितिने स्थिति बनेको भए । त्यसो भएको हुनाले मुख्यतः जनप्रतिनिधिहरुले नै कामलाई सोझ्याउनुपर्छ । संविधान तथा संघ र प्रदेशका कानूनसँग नबाझिने गरी तपाईंहरुले आफ्ना कानून र ऐन बनाउन सक्नुहुन्छ । त्यसो भएको हुनाले त्यहीँबाट गर्ने हो । अहिले हामी केन्द्रिय तहबाट गर्ने ठाउँमा छैनौँ । तर धेरै ढिलो होला जस्तो लाग्दैन । हामी फेरि कानून बनाउने ठाउँमा पुग्छौँ । हाम्रो पार्टी हार्नका लागि जन्मिएको पार्टी नै होइन । हामी जित्छौँ । हामी जित्छौँ यो त स्पष्ट छ नि । यो पार्टीले देश बनाउनै पर्नेछ । यसले देश जोगाउँछ, यसले देश बनाउँछ, राष्ट्रियताको रक्षा गर्छ ।’

उहाँले पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई खुसि बनाउने गरी कार्य सम्पदान गर्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।