नागढुंगा–मुग्लिन सडकखण्ड भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

17 Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार सूचना जारी गर्दै सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसिरहेको र मानवीय क्षतिसमेत हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गरेर पहिरो पन्छाउने निर्णय भएको जनाएको छ ।

कार्यालयका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गरिनेछ ।

उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने प्रशासनले जनाएको छ ।

सडक बन्द हुने समयलाई ध्यानमा राखी सोहीअनुसार यात्रा व्यवस्थापन गर्न सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।