नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले राज्यका संवैधानिक तथा कानुनी निकायको काममा बाह्य व्यक्तिहरूको हस्तक्षेप बढेको आरोप लगाउनुभएको छ ।
एमालेको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महरले सरकार सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरू हाबी भएको दाबी गर्नुभयो । विशेषगरी बिचौलियासँग जोडिएका व्यक्तिहरूले अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोजेको उहाँको आरोप थियो ।
महरले प्रधानमन्त्रीको सचिवालय विस्तार र मन्त्रालयको संख्या घटाउने सरकारी निर्णयबीचको विरोधाभास औँल्याउँदै राज्य सञ्चालनमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता रहेको बताउनुभयो । सरकारले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी गर्दै उहाँले राष्ट्रिय भेलापछि पार्टीले सरकारका कामकारबाहीबारे जनतामाझ आफ्नो धारणा लैजाने जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया