कांग्रेसले मंसिर १ देखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने

18 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, वैचारिक स्पष्टता, दस्तावेज निर्माण तथा सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मंसिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।

कांग्रेस गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीका कमजोरी र कमीकमजोरीको समीक्षा गर्दै तिनलाई सच्याएर कांग्रेसलाई थप सशक्त बनाउने उद्देश्यले अभियान सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

उनका अनुसार अभियानमार्फत पार्टीको वर्तमान अवस्था, संगठनात्मक कमजोरी, वैचारिक दिशा र आगामी राजनीतिक कार्ययोजनाबारे गम्भीर छलफल गरिनेछ। साथै, कांग्रेसले जिम्मेवार र सकारात्मक प्रतिपक्षीको भूमिका कसरी प्रभावकारी रूपमा निर्वाह गर्ने भन्ने विषयमा पनि स्पष्ट योजना तयार गरिनेछ।

महामन्त्री पौडेलले पार्टीभित्र फैलिने हल्ला, कानेखुसी र अनावश्यक आरोप–प्रत्यारोपले संगठनलाई कमजोर बनाउने भन्दै नेता तथा कार्यकर्तालाई त्यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरे। पार्टीलाई बलियो बनाउन आपसी विश्वास, सहकार्य र समन्वय आवश्यक रहेकोमा उनले जोड दिए।

उनले कांग्रेसभित्र सबै नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जिम्मेवारी नपाएका नेताहरूलाई समेत पार्टीको काममा सक्रिय बनाउने गरी फराकिलो दायरा निर्माण गरिने स्पष्ट पारे। पार्टीको संगठनलाई प्रभावकारी बनाउन सबैको क्षमता र अनुभवलाई उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

पौडेलले मंसिर महिनाभित्रै जिल्ला तथा प्रदेश अधिवेशनको तयारीलाई अघि बढाइने जानकारी दिँदै स्थानीय तह निर्वाचनको तयारीसमेत व्यापक बनाइने बताए। संगठनलाई तल्लो तहसम्म मजबुत बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी रूपमा प्रस्तुत हुने गरी पार्टीले तयारी थाल्ने उनको भनाइ छ।

‘हामी तयार छौँ’ अभियानको उद्देश्य, कार्ययोजना र सञ्चालन प्रक्रियासहितको सर्कुलर छिट्टै प्रदेश तथा जिल्ला तहमा पठाइने पनि महामन्त्री पौडेलले जानकारी दिए। उक्त सर्कुलरमार्फत अभियानलाई देशभरका पार्टी संरचनामा एकरूपताका साथ सञ्चालन गर्ने तयारी गरिएको छ।

कांग्रेसले पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक अवस्थाको समीक्षा गर्दै संगठन सुदृढीकरण तथा प्रतिपक्षी भूमिकालाई प्रभावकारी बनाउने प्रयासस्वरूप यो अभियान अघि सार्न लागेको हो। अभियानले पार्टीभित्र एकता, समन्वय र वैचारिक स्पष्टता कायम गर्न कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।