दुईदिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग एक्लाएक्लै वार्ता हुने

17 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको भारतीय आकाश हुँदै थप हवाई रुट उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी छ ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर ६ गते नयाँदिल्ली पुग्नेछ । दुईदिने भ्रमण पूरा गरी उनी भोलिपल्ट स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न द्विपक्षीय मुद्दामा छलफल तथा सहमति हुने अपेक्षा गरिएको छ । विशेषगरी भारतीय आकाश प्रयोग गरेर अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न थप हवाई रुट उपलब्ध गराउने विषय नेपालका लागि महत्वपूर्ण एजेन्डाका रूपमा रहनेछ ।

भ्रमणबारे जानकार एक अधिकारीका अनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तापछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यक्रम छ ।

नेपालका प्रधानमन्त्रीले भारतको राजकीय भ्रमण गर्ने अभ्यास यसअघि पनि हुँदै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ र २०१८ मा दुईपटक भारतको राजकीय भ्रमण गरेका थिए ।

त्यसैगरी, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०१६ मा र शेरबहादुर देउवाले सन् २०१७ मा भारतको राजकीय भ्रमण गरेका थिए ।