कार्यभार सम्हाल्न भारतीय राजदूत सुधाकर दलेला नेपाल आइपुगे

10 Shares

काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला यहाँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आएका हुन् ।

राजदूत दलेलालाई नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले स्वागत गरेका थिए । उनी सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् ।

राजदूत दलेलाले आफ्नो कूटनीतिक सेवा इजरायलको तेल अभिभबाट सुरु गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यसयता उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय कूटनीतिक नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

पछिल्लो पटक दलेलाले सन् २०२२ देखि सन् २०२५ सम्म भुटानका लागि भारतको राजदूतका रूपमा कार्य गरेका थिए । राजदूत दलेलाले नयाँ दिल्लीमा पनि महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हालेका थिए ।

उनले सन् २००९ देखि सन् २०११ सम्म प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा कार्य गर्दै भारतका दक्षिण एसियाली छिमेकी मुलुकहरू, पूर्वी एसिया तथा हिन्द प्रशान्त क्षेत्र, खाडी मुलुक, मध्यपूर्व र अफ्रिकी देशहरूसँगको सम्बन्ध तथा सहकार्यसम्बन्धी विषय हेरेका थिए ।

राजदूत दलेलाले संयुक्त राज्य अमेरिकामा पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । नेपालका लागि भारतको राजदूत नियुक्त हुनुअघि उनले भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारी सम्हालेका थिए ।

उक्त जिम्मेवारीमा उनले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेरेका थिए ।

यस अघिका भारतीय राजदूत नविन श्रीवास्तव आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किसकेका छन् ।