व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूहलाई

10 Shares

काठमाडौं । दशौँ व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा मंगलबार सम्पन्न फाइनलमा ज्वालामुखीले सप्तरंगी युवा समूह उँबूलाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

उपाधिसँगै ज्वालामुखीले तीन लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता सप्तरंगीले एक लाख ५० हजार १११ रुपैयाँ पाएको छ । सेमिफाइनलमा पुगेका दूधकौशिका आधारभूत विद्यालय र मानेभञ्ज्याङ युवा समूहले ८० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितासँगै आयोजना गरिएको तेस्रो रूपा स्मृति महिला फुटबलको उपाधि भने ओखलढुंगाले जितेको छ । फाइनलमा खोटाङलाई ट्राइब्रेकरमा ३–१ गोलले पराजित गर्दै ओखलढुंगा विजेता बनेको हो । महिला फुटबलको विजेता ओखलढुंगाले २५ हजार र उपविजेता खोटाङले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सेमिफाइनलमा पुगेका सिन्धुली र उदयपुरले पाँच हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

खेलकुदको माध्यमबाट विकासको अभियानु भन्ने नारासहित राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) को जन्मथलोमा नयाँ नेपाल सरोकार समाजले प्रतियोगिता आयोजना गरेको हो । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडा र राष्ट्रिय गानका सर्जक व्याकुल माइला लगायतले पुरस्कार वितरण गरेका थिए ।

विसं २०६८ देखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताका लागि मानेभञ्ज्याङ गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बाढीका कारण क्षतिग्रस्त खेलमैदान मर्मतसम्भार गरी व्यवस्थित बनाएपछि यस वर्ष प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।