सम्भावित विपद् सामना गर्न सातै प्रदेशका स्वास्थ्य निकायलाई उच्च सतर्क रहन निर्देशन

56 Shares

कात्तिक १२ — सम्भावित भारी वर्षा र त्यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सरकारले सातै प्रदेशका स्वास्थ्य निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले प्रदेशका स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूलाई आवश्यक स्वास्थ्यकर्मी, औषधि, स्वास्थ्य सामग्री र एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरेको छ । साथै, विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई तत्काल उपचार उपलब्ध गराउन एम्बुलेन्स सेवा प्रभावकारी बनाउने व्यवस्था मिलाउन भनिएको छ ।

अक्टोबर २९ देखि ३१ सम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, हिमपात, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिइएको हो । प्रदेशका स्वास्थ्य केन्द्रहरूलाई स्वास्थ्यसम्बन्धी घटनाको विवरण दैनिक रूपमा उपलब्ध गराउनसमेत भनिएको छ ।