ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बुबाआमा घाइते

8 Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्।

जिल्लाको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा शनिबार बिहान भएको दुर्घटनामा खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ निवासी २९ वर्षीय चन्द्र बुढाथोकी, उनकी २७ वर्षीया श्रीमती रेणुका राई र ९ वर्षीय छोरा जुवास बुढाथोकी घाइते भएका थिए।

प्राप्त विवरणअनुसार असोज ३१ गते बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट HR38AL1634 को ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान करिब ६ बजे चिकित्सकले बालक जुवास बुढाथोकीलाई मृत घोषणा गरेका थिए। उनका बुबा र आमाको उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा ग्यास बुलेटका चालक भारत निवासी करिब ३७ वर्षीय शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।