ओझेलमा परेको पुर्कोट–गोरखा फूलपाती परम्परा पुनः सुरु

9 Shares

काठमाडाैं । तनहुँको भानु नगरपालिका–७ स्थित ऐतिहासिक पुर्कोट कालिकाबाट गोरखाको गोरखकाली मन्दिरमा फूलपाती हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

करिब १०० वर्षदेखि ओझेलमा परेको ऐतिहासिक परम्परालाई पुनः जगेर्ना गर्ने उद्देश्यले श्री कोटघर कालिका सांस्कृतिक सम्पदा संरक्षण समितिको आयोजनामा कार्यक्रम गरिएको हो।

धार्मिक विधि तथा परम्पराअनुसार सम्पन्न फूलपाती हस्तान्तरण तथा ग्रहण कार्यक्रमले पुर्कोट र गोरखाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पुनः उजागर गरेको आयोजकले जनाएको छ।

ऐतिहासिक विवरण तथा जनश्रुतिअनुसार पुर्कोटको तनहुँ राज्यसँग सामरिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको थियो। गोरखाका राजा पृथ्वीपति शाहका छोरा वीरभद्र शाहको विवाह तनहुँकी राजकुमारीसँग भएको र उनीहरूका सन्तान नरभूपाल शाहको जन्मसम्बन्धी ऐतिहासिक परम्परा पुर्कोटसँग जोडिएको मानिन्छ।

यही सम्बन्धका कारण पुर्कोट कालिकाबाट गोरखाको गोरखकाली मन्दिरमा फूलपाती लैजाने परम्पराले विशेष महत्त्व राख्दै आएको छ।

यसैबीच, पुर्कोटगढी तथा पुर्कोट कालिका क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि भानु नगरपालिकाले तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

तस्बिरहरूः