राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग जोडेर सार्वजनिक गरिएको विवादित अडिओले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको छ । आफूसँग सम्बन्धित भन्दै सार्वजनिक गरिएको अडिओको खण्डन गर्दै सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूविरुद्ध लगाइएका आरोपहरू असत्य रहेको बताएका छन् । सुनारले प्रहरीभित्रको भ्रष्टाचार र अनियमितताबारे प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको जिकिर गरेका छन् । सार्वजनिक भएको अडिओमा एक महिलासँगको कुराकानी रहेको र त्यसमा आपत्तिजनक शब्द तथा धम्कीपूर्ण अभिव्यक्ति सुनिएको भन्दै समाचार प्रकाशित भएका छन् ।
विवाद बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस विषयमा आन्तरिक छानबिन अघि बढाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइएको बताएका छन् । छानबिन निष्कर्षमा नपुगेसम्म सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ ।
सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया