सरकारको काम सन्तोषजनक, तर गति बढाउनुपर्छ: रास्वपा

13 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो नेतृत्वमा रहेको सरकारले पछिल्लो छ महिनामा गरिरहेको काम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । यद्यपि, आगामी दिनमा सरकारको कामको गति थप तीव्र बनाउनुपर्ने पार्टीको ठहर छ ।

पार्टी केन्द्रीय समितिको बैठकले सरकारको कामको समीक्षा गर्दै नियत सफा राखेर काम गरिरहेको र सुशासनको आधारशिला निर्माण गर्ने दिशामा सरकार अघि बढिरहेको निष्कर्ष निकालेको हो ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सरकारको कामप्रति पार्टी सकारात्मक रहे पनि आगामी दिनमा परिणाम देखिने गरी कामको गति बढाउनुपर्नेमा बैठक एकमत भएको छ ।

‘सरकारले एकदमै राम्रोसँग काम गरिरहेको छ, नियत सफा राखेर काम गरिरहेको छ र सुशासनको आधारशिला बनाएको छ भन्ने कुरामा पार्टी सहमत छ,’ उनले भने, ‘तर यसको गतिलाई अझै बढाउनुपर्छ र त्यो गति बढाउने कुरामा पार्टीको तर्फबाट पनि सरकारलाई सहयोग गर्नुपर्छ भन्नेमा केन्द्रीय समिति एकमत छ ।’

सरकारले आगामी छ महिनामा कामको गति थप तीव्र बनाउन सक्ने भन्दै त्यसका लागि पार्टी पंक्तिले पूर्ण सहयोग गर्नुपर्ने निर्देशन सभापति रवि लामिछानेबाट समेत आएको खरेलले बताए ।

रास्वपाले संगठन विस्तार तथा जनतासँगको पहुँच थप सुदृढ गर्न असोज २० गतेदेखि ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानअन्तर्गत पार्टीका सांसद तथा केन्द्रीय सदस्यलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । जिम्मेवारी पाएका नेताहरू सम्बन्धित जिल्लामा पुगेर अभियानका कार्यक्रमको नेतृत्व गर्नेछन् ।

पार्टीले अभियानमार्फत स्थानीय तहसम्म संगठन विस्तारसँगै जनताका सुझाव तथा गुनासा संकलन गर्ने तयारी गरेको छ ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति पनि गठन गरेको छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको हो ।

समितिका सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी रहेका छन् ।

समितिमा सातै प्रदेशका सभापतिलाई पदेन सदस्य रहने व्यवस्था गरिएको छ । समितिमा अन्य केही सदस्य भने मनोनयन हुन बाँकी रहेको प्रवक्ता खरेलले जानकारी दिए ।

रास्वपाले सरकारको काममा सहयोग गर्ने, संगठन विस्तारलाई तीव्रता दिने र आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी अघि बढाउने निर्णय गरेको छ ।