चाडपर्वमा काठमाडौंको सुरक्षा कडा, ३ हजार ५०६ प्रहरी परिचालन गरिने

19 Shares

काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सहज आवागमन तथा धनजनको सुरक्षा सुनिश्चित गर्न ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने सुरक्षा योजना सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजित प्रेस भेटघाटमा सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार ९८ वटा क्षेत्रमा सुरक्षा निगरानी, १६६ मोबाइल टोली, ५०८ पिकेट, २१० पैदल गस्ती, १५२ क्यूआरटी मोटरसाइकल, १४० कर्डन सर्च, १४० क्यूआरटी टोली, ७० सादा पोसाकका प्रहरी र १३३ चेकप्वाइन्ट परिचालन गरिनेछ। त्यस्तै ८० स्थानमा मन्दिर ड्युटी, ७६ वटा हेल्प डेस्क र १४८ टिकट काउन्टरमा प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ।

सुरक्षा योजनाअन्तर्गत धार्मिक तथा सांस्कृतिक स्थल, बसपार्क, सार्वजनिक यातायात क्षेत्र, खाद्यान्न तथा खसी बजार, बैंक तथा वित्तीय संस्था, एटीएम, किनमेल क्षेत्र, सुनचाँदी पसल र अत्यधिक भीडभाड हुने स्थानलाई संवेदनशील क्षेत्रका रूपमा निगरानीमा राखिएको छ। नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, रत्नपार्क, न्यूरोड, असन, गोंगबु, बालाजु, गौशाला, चाबहिललगायत क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिनेछ।

प्रहरीका अनुसार चाडपर्वका समयमा हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पाकेटमारी, चोरी, लुटपाट, जुवा तथा अवैध खेल, नक्कली नोट र वैदेशिक मुद्रा ठगी लगायतका अपराध हुन सक्ने जोखिमलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै अवैध पटका तथा आतसबाजी, मदिरा तथा लागूऔषध सेवनपछि हुने सवारी दुर्घटना, टिकटको अनियमित बिक्री, यात्रु तानातान, झै–झगडा तथा बन्द रहेका घर तथा कार्यालयमा चोरी हुन सक्ने जोखिमलाई समेत सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ।

सुरक्षा व्यवस्थापनका लागि सूचना संकलन तथा विश्लेषण, प्रभावकारी प्रहरी परिचालन, विभिन्न निकाय तथा समुदायसँग समन्वय, कानुन कार्यान्वयन र प्रविधिको प्रयोगलाई मुख्य रणनीति बनाइएको छ। प्रहरीले सीसीटीभी, ड्रोन, कुकुरसहितको टोली, सामाजिक सञ्जाल तथा सूचना प्रवाहलाई समेत सुरक्षा निगरानीमा प्रयोग गर्ने जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट तीन वटा ड्रोन परिचालन गरिनेछ भने १० स्थानमा सार्वजनिक सूचना प्रसारण प्रणालीसमेत राखिएको छ

यात्रु तथा सर्वसाधारणको सहजताका लागि कलंकी, बल्खु, कोटेश्वर, जडीबुटी, गोंगबु बसपार्क, बालाजु, सितापाइला, जोरपाटीलगायत क्षेत्रमा नागरिक सहायता कक्ष तथा हेल्प डेस्क सञ्चालन गरिनेछ। सम्भावित घटनामा छिटो प्रतिक्रिया दिन सि.आर.भी., मोबाइल, स्ट्राइकिङ, एम्बुस तथा संयुक्त चेकिङ टोली परिचालन गरिने प्रहरीले जनाएको छ।

यसैगरी तालुक कार्यालयबाट थप १९० जना प्रहरी परिचालन गरिनेछ। प्रहरीले बहुमूल्य गरगहना, नगद तथा महत्त्वपूर्ण कागजात घरमा नराखी सुरक्षित स्थानमा राख्न, घर तथा कार्यालयका ढोका–झ्याल सुरक्षित गर्न, अपरिचित व्यक्तिलाई प्रवेश नदिन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले चाडपर्वलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन ‘हाम्रो सुरक्षा, हाम्रो जिम्मेवारी’ भन्ने भावनाका साथ प्रहरीसँग सहकार्य गर्न समेत नागरिकलाई अपिल गरेको छ।