पर्सा । प्रहरीले पर्साका विभिन्न स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लामा लागुऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित आफ्नै घरबाट ७० वर्षीय दुखी महतोलाई गाँजासहित पक्राउ गरिएको हो। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उनको घरमा जाँच गर्ने क्रममा १८ किलो ४०० ग्राम गाँजा बरामद गरेको जनाएको छ।
त्यस्तै, प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। उनलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
दुवै जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखी लागुऔषधको स्रोत, कारोबार तथा ओसारपसारमा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पछिल्लो समय पर्साका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा शंकास्पद गतिविधिमाथि जाँचलाई तीव्र बनाउँदै आएको जनाएको छ। सीमावर्ती जिल्ला भएकाले पर्सामा विभिन्न प्रकारका लागुऔषधको ओसारपसार तथा कारोबार रोक्न प्रहरीले विशेष निगरानी गर्दै आएको छ।
पक्राउ परेका दुवै जनामाथि प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि निगरानी बढाउँदै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने प्रहरीको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया