सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

19 Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो । आयुष र सुलभको असामयिक निधनले एकातिर दुवै परिवारलाई सम्हालिनसक्नु शोकमा धकेलेको छ भने अर्कोतिर सिङ्गो धम्बोजी अझै त्यो कहालीलाग्दो क्षण सम्झेर झस्कन्छ ।

सहिदको बलिदानलाई जीवन्त राख्न र सम्मान प्रकट गर्न नेपालगन्ज उपमहानगरपालिका वडा नं १ ले विभिन्न भौतिक तथा सामाजिककार्य अगाडि बढाएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

“नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोझीस्थित वडा कार्यालय परिसरमा सहिदको स्मृतिमा ‘सहिद योग भवन’ तथा खुला जिम हाउस निर्माण गरिएको छ”, वडाध्यक्ष रिजालले भने, “सहिद आयुष थापा र सुलभराज श्रेष्ठको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उहाँहरूका नाममा प्रवेशद्वार निर्माण भइरहेको छ ।”

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालका अनुसार स्थानीय सरकार सहिद परिवारका समस्या र माग सम्बोधनका लागि निरन्तर संवादमा छ । उपमहानगरपालिकाले सहिदको स्मृतिमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । नयाँ पुस्तालाई उहाँहरूको योगदानबारे जानकारी दिन स्थानीय पाठ्यक्रममा सहिदको परिचय समेट्ने तयारी भइरहेको नगरप्रमुख प्रशान्त विष्टले बताए ।

सहिद परिवारको आग्रहबमोजिम यो कार्य तत्काल अघि बढाउने तयारी गरिएको नगरप्रमुख विष्टले जानकारी दिए । भौतिक संरचनाको पुनर्निर्माण भइरहँदा काठमाडौँको सडकमा प्राण गुमाएका आफ्ना छोराको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको पर्खाइमा धम्बोझीका यी परिवार अझै टोलाइरहेका छन् ।

सहिद परिवारले सरकारसँग सहिदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन र गोली चलाउनेमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन् । आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाएको भन्दै घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको आयुषका बुबा सुशीलको गुनासो छ ।

नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगरले सहिद परिवारको सम्मान र स्मृतिका लागि दीर्घकालीन संरक्षणका लागि भएका भौतिक पूर्वाधार र सामाजिककार्य सकारात्मक रहेको उल्लेख गर्दै सरकारले सहिद परिवारको सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए ।