काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन्। उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन्।
काठमाण्डौ बाहिरका उद्योगमा खाली सिलिण्डर कम भएकाले खालि भएका सिलिण्डर पठाएर ट्रकमार्फत भरेका सिलिण्डर उपत्यका ल्याउने ब्यबस्था मिलाइएको छ। यसरी ल्याउँदा पनि काठमाडाैंका उद्योगले सिलिण्डरको अभावमा मागअनुसार उपलब्ध गराउन नसकेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । सामान्य अबस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिण्डर आबश्यक पर्दछ। अहिलेको अवस्थामा एक लाख सिलिण्डर पनि खपत हुने अबस्था छ ।
उद्योगीहरुले संगठित रुपमा ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनमानै समस्याको समाधान हुने भण्डारीले बताउनुभयो। राजधानी बाहिर नजिकका उद्योगले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन् । गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको छ। यो मात्रा हाल सम्मकै बढी हो। सोही अनुपातमा ग्यास आइरहेकाले कुनै समस्या नपर्ने ब्यबसायीको भनाई छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया