एजेन्सी। रुसी सेनाले युक्रेनको हतियार भण्डारण केन्द्रमा गरेको आक्रमणमा परी ३७ जनाको मृत्यु भएको छ।
क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोले आक्रमणमा परी ४ बालबालिकासहित ४२ जना घाइते भएकाे बताउनुभएकाे हाे। रुसी ड्रोनले युक्रेनको राजधानी कीभ नजिकैको आवासीय क्षेत्रमा रहेको सैन्य हातहतियार तथा गोलाबारुद भण्डारण केन्द्रमा आक्रमण गर्दा अरू करिब ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।
कीभको पश्चिमतर्फ रहेको बुचा जिल्लाको एक गोदाममा शुक्रबार राति रुसी ड्रोन ठोक्किएपछि त्यहाँ राखिएका शेल, माइन्स र ड्रोनका विष्फोटक पदार्थहरूमा शृंखलाबद्ध विस्फोट भएको थियो । विस्फोट र त्यसपछि फैलिएको भीषण आगोका कारण नजिकै रहेको वृद्ध तथा अपांगता भएका व्यक्तिहरूको हेरचाह केन्द्रमा करिब १ सय ३० वटा सर्वसाधारणका घरहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् ।
मृतक ३७ जनामध्ये ३४ जना वृद्धश्रममा रहेका व्यक्तिहरू भएको जनाइएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारण बसोबास गर्ने बस्तीनजिकै विस्फोटक र गोलाबारुद भण्डारण गरिनु गम्भीर लापरबाही भएको बताउनुभयाे। युक्रेनी कानून अनुसार आवासीय क्षेत्र नजिकै हतियार राख्न नपाइने भएकाले युक्रेनको सुरक्षा सेवाले यस घटनामा संलग्न जिम्मेवार अधिकारीहरूविरुद्ध आपराधिक अनुसन्धान शुरु गरेको छ ।
उता रुसले भने उक्त गोदाममा युक्रेनको लामो दूरीको एफपी-१रएफपी-२ ड्रोनका कम्पोनेन्ट र बुस्टरहरू राखिएकाले त्यसलाई लक्षित गरी ‘गेरान–४’ ड्रोनमार्फत आक्रमण गरिएको जनाएको हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया