गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन

11 Shares

म्याग्दी । काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आयो ।

बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नाकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएका छन् ।

“विदेशबाट पढेर आएका भाइले बनाएको कुखुरापालनको योजनालाई साथ दिएर बेनी बजार नजिकैको खबरा लभ्लीहिलमा १४ रोपनी जग्गा भाडामा लिएर सुरु गरेको रिजाल एग्रो फार्म हाल रत्नेचौर, कुरिलाखर्क, बरबुटा र चुत्रेनीमा विस्तार भएको छ” व्यवसायी दीर्घले भने, “हाल सात हजार लेयर्स र पाँच हजार ब्रोइलर कुखुरा छन् । परिवारका चार जना सदस्यसहित २० जनाले रोजगारी पाएका छौ ।”

रु दुई करोड लगानी रहेको फार्मले गत वर्ष रु १६ करोडभन्दा बढीको कारोबार गरेको उनले बताए । “सुरुआती दिनमा बैङ्कले ऋण नपत्याएको र ग्राहकलाई पनि उत्पादनको बारेमा बुझाउनुपर्ने अवस्था थियो,” उनले भने “निरन्तरता र गुणस्तरमा जोड दिएका कारण रिजाल एग्रोको आफ्नै ब्रान्ड बनेको छ । बजारमा मासु, अण्डा र कुखुराको बिक्रीमा समस्या छैन ।”

जिल्ला सदरमुकाम बेनी र आसपासका स्थानीय बजारमै अण्डा खपत हुने गरेको छ । फार्ममा उत्पादन भएका अण्डाका साथै उद्योगबाट दाना ल्याएर बिक्री गर्न बेनी बजारमा पसल पनि सञ्चालन गरिएको छ । कुखुराको मासुको माग उच्च रहेकाले बेनी बजार वरपरका क्षेत्रमा खाली रहेका खोरहरु भाडामा लिएर ब्रोइलर जातको कुखुरापालन विस्तार गरेको सञ्चालक रिजालले बताए ।

म्याग्दीमा प्रोल्ट्री व्यवसायको भविष्य देखेर नै विदेशमा अध्ययन गरेर त्यहाँका अवसर त्यागेर व्यवसायमा लागेको फार्मका अर्का सञ्चालक मुकुन्द रिजालले बताए ।

“आफ्नै देशका केही गरौँ भन्ने सोचले न्युजिल्यान्डको अवसर छाडेर व्यवसायमा लागेको हो,” उनले भने, “पोल्ट्री व्यवसायलाई नै थप व्यवस्थित र विस्तार गर्ने योजनामा छौँ ।” स्थानीय स्तरमा प्राविधिक जनशक्ति र कामदारको अभाव तथा फार्मसम्म पुग्ने पहुँच मार्ग कच्ची भएकाले ढुवानीको चुनौती रहेको सञ्चालक रिजाल दाजुभाइको भनाइ छ ।