गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेकाे निर्णय

15 Shares

काठमाडाैं । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

एमाले गण्डकी संसदीय बोर्डको मंगलबार बसेको बैठकले सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सबै प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि एमालेले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ। एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द बहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मण बहादुर पाण्डे रहेका हुन्।

उनीहरूलाई मंगलबार नै फिर्ता बोलाउने निर्णय गरिएको एमाले जनाएकाे छ। नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनेको थियो। एमाले सरकारबाट बाहिरिए पनि कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को समर्थन कायमै रहेकाले तत्काल सरकारको बहुमतमा असर नपर्ने कांग्रेस नेताहरूको दावी छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मनाङबाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि अहिले ५९ सांसद छन्। सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्छ। कुनै पनि दलसँग एकल बहुमत छैन। गण्डकीमा कांग्रेस २७ सिटसहित सबै भन्दा ठूलो दल हो।

कांग्रेस नेतृत्वको सरकारलाई बहुमत कायम राख्न राप्रपाका दुई र नेसपाका एक सांसदको समर्थन आवश्यक पर्छ। यी दुवै दलले हालसम्म पाण्डे नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएका छैनन्। एमालेसँग २२ सिट छ।

एमालेको नेतृत्वमा सरकार बनाउन नेकपाका सभामुख बाहेक ६ सांसद र राप्रपाका दुई जना सांसदको समर्थन आवश्यक पर्छ।