फोहोर व्यवस्थापन गर्न स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्ने मन्त्री तिमिल्सिनाकाे प्रतिवद्धता

36 Shares

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सिंहदरबारमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यकासहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिसँगको छलफलको क्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले विद्यमान ऐनमा संघीय सरकारले स्थानीय तहलाई प्रशासकीय भवन बनाउन मात्र जग्गा उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले तत्काल जग्गासम्बन्धी समस्या समाधान गर्नको लागि मन्त्रिपरिषदबाट नियमावली संशोधन गर्न भूमि व्यवस्था मन्त्रालयसँग सहकार्य गइरहेको समेत जानकारी गराउनुभएकाे छ।

मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनको समस्या संघीय सरकार, स्थानीय तह वा कुनै एक निकायको मात्र नभई राष्ट्रिय आपतकाल भएको भन्दै सबै निकायबीच समन्वय र सहकार्यमा यसको समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालका लागि लिजमा जग्गा उपलब्ध गराउने र स्थानीय तहले भुक्तानी गर्नुपर्ने रकम समेत हटाउने गरी नियमावली संशोधनमार्फत हल निकाल्नेतर्फ छलफल भइरहेको बताउनुभएकाे छ।

मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रका प्रभावित नागरिकको समस्याप्रति समेत सरकार गम्भीर रहेको बताउनुभयाे । बैठकमा प्रभावित स्थानीय तहका प्रतिनिधिहरुले संघीय सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।