पार्टीको विधान र पद्धति विपरित गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने कांग्रेसकाे चेतावनी

23 Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरित गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताउनुभएको हो । संयोजक गुरुङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् । समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र अधिकांश उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले पार्टीको १५ औं महाधिवेशनको प्रक्रिया शुरु हुनुअघि नै सबै उजुरीहरूको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको बताउनुभएकाे छ । समितिले हालैका केही गतिविधिहरूमाथि पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विशेषगरी, डा. शशांक कोइरालाको संयोजकतामा भएको भनिएको एक भेला र त्यहाँ पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको हाे । संयोजक गुरुङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटरप्याडको प्रयोग र मर्यादा विपरितका कार्यहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

अनुशासन समितिले आफूलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दावी गर्दै विधानको धारा १७ (२) बमोजिम काम गरिरहेको जनाएको छ । पार्टी हितका लागि गरिने भेला र सम्मेलनमा बन्देज नभए पनि पार्टीकैविरुद्ध हुने गतिविधिमाथि भने कडा निगरानी राखिने समितिले स्पष्ट पारेको हाे।