काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजकाे खेलमा नेपाल ‘ए’ ले हारबाट शुरुवात गरेको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा शुक्रबार भएकाे खेलमा आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकले नेपाललाई ८ विकेटले पराजित गरेकाे हाे । नेपालले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य एनटीले १५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । एटीका डाउट्जी हुगेनबोएजेमले अविजित ५० रनको योगदान गरेका थिए । उनले ३७ बलमा चार चौका र एक छक्का प्रहार गरेका छन् । त्यसैगरी जोर्डन सिल्कले अविजित ४२ र कप्तान डार्सी सर्टले २३ रन बनाएका थिए ।
नेपालका निम्ति दुवै विकेट पवन सराफले लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २० रनको योगफल तयार पारेको थियो । नेपालका पवन सराफले सर्वाधिक ४१ रनको योगदान गरेका थिए। उनले ४९ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी, लोकश बमले १६, नारायण जोशीले १५, कप्तान अनिलकुमार साहले १४, तृतराज दासले १३ र रासिद खानले १० रन बनाएका छन्।
एनटीका हामिश मार्टिनले तीन तथा टम मोन्जिस, विलियम ब्लेयर, साम बार्कर र डार्सी सर्टले एक-एक विकेट लिएका थिए ।अब नेपालले शनिबार बंगलादेश हाई पर्फमेन्स टोलीको सामना गर्ने भएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया