मकवानपुरमा उच्च अदालतका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना, ६ घाइते

42 Shares

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

मंगलबार बिहान काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो जुराखेतमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्कार्पियोमा मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित उनका पारिवारिक सदस्यहरू सवार थिए। दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

दुर्घटनाको विस्तृत विवरण तथा घाइतेहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।