काठमाडौँ । साउन महिनामा इतिहासकै धेरै ग्यास आयात भएको छ । खाना पकाउने ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको हो तर अहिले पनि बजारमा ग्यास पाउन लाईन बस्नुपर्ने बाध्यता रहेको छ । साउनमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार पाँच सय पाँच टन ग्यास आयात भएको हो ।
साउनमा आयात भएको ग्यास परिमाणले ३८ लाख ३८ हजार चार सय १० थान ग्यास भरेर बजार पठाएको आयल निगमले जनाएको छ । जबकि, सामान्य अवस्थामा मुलुकभर मासिक ३० लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । सोमबारदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट मात्रै नियमित प्रक्रियाअनुसार ग्यास वितरण हुने भएको छ । ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरणको नाम, ठेगाना, सिलिन्डर संख्यालगायतका विवरण प्रत्येक दिन बिहान ९ बजे निगममा बुझाउनुपर्ने भएको छ ।
त्यस्तै, ग्यास विक्रेताले पनि ग्यासको परिमाण, उपभोक्ताको विवरण दैनिक उद्योगलाई उपलब्ध गराउनुपर्ने भएको छ । जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग तथा निगमबाट खटिएका जनशक्तिको संयुक्त अनुगमनबाट ग्यास वितरण हुने निगमले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया