उपचारपछि बिहीबार स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल जाने

16 Shares

काठमाडौं । स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने भएका छन्। देउवालाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारीमा छन्।कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरू विमानस्थल पुगेर देउवाको स्वागत गर्ने नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।विश्वकर्माका अनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू देउवाको स्वागतमा सहभागी हुनेछन्।देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।स्वास्थ्य उपचारका लागि गत फागुनमा नेपालबाट सिंगापुर गएका देउवा उपचारपछि थप उपचारका लागि हङकङ पुगेका थिए। त्यसपछि थाइल्याण्ड हुँदै उनी नेपाल फर्किन लागेका हुन्।गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै आक्रमणमा परी घाइते भएका देउवा दम्पतीले त्यसपछि सैनिक अस्पताल छाउनीमा उपचार गराएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उनीहरू थप उपचारका लागि विदेश गएका थिए।स्वदेश फर्किएपछि देउवा कांग्रेसको आन्तरिक गतिविधिमा सक्रिय हुने नेताहरूले बताएका छन्। उनले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।