काठमाडौं । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमतिमार्फत समाधान खोज्न अपिल गरेको छ ।
वीरगन्जस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शनभन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन् ।
नारायणी अस्पतालका ७१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । शनिबार वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत चिकित्सक मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गरेका थिए ।
आक्रमणका कारण डा राम गम्भीर घाइते भएपछि विरोधमा उत्रिएका ७१ चिकित्सकले आज सामूहिक राजीनामा दिएका छन् । शनिबारदेखि अस्पतालका सम्पूर्ण सेवा ठप्प छन् ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री, नेकपा (माओवादी केन्द्र) पर्साका नेता जयप्रकाश थारु, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेत्रृ तुलसा पौडेल अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सोमेश्वरनाथ उपाध्याय, नेकपा (एमाले) पर्साका नेता डा विश्वम्भर शर्मा र जसपा नेपालका रामनरेश यादव सहभागी बैठकले अस्पतालका सबै सेवा बन्द हुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै जतिसक्दो चाँडो सेवा सञ्चालनका लागि पहल गर्न सम्बन्धित निकायसँग अपिल गरेका छन् ।
नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कर्णले आन्दोलन गर्दै जनताको स्वास्थ्यसँग जोडिएको स्वास्थ्य सेवा नै बन्द गर्नेभन्दा पनि सेवा सञ्चालन गर्दै संवाद वा कानुनी समाधान खोज्न आग्रह गरे ।
नेताहरुले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण, त्यसपछिको आन्दोलन तथा देशभरका स्वास्थ्य संस्था प्रभावित भएको अवस्थाप्रति गहिरो चिन्ता पनि व्यक्त गरेका छन् । बैठकले आकस्मिक कक्षमा कार्यरत डा प्रमोद राम तथा अन्य स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको भर्त्सना गर्दै घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा घाइते चिकित्सकको उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरेको छ ।
आमनागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै देशभर प्रभावित स्वास्थ्य संस्थाका सम्पूर्ण सेवा यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बैठकको आग्रह छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया