स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु

8 Shares

काठमाडौं । स्पेनमा दुई उच्च गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५० भन्दा बढीको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुर्घटना राजधानी मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने उर्दा सहरनजिक भएको हो । दुर्घटनाको भयावहतालाई ध्यानमा राख्दै सरकारी अधिकारीहरूले मृतकको संख्या थप बढ्न सक्ने बताएका छन् ।

रोकिराखिएको रेललाई तीव्र गतिमा आएको अर्को रेलले पछाडिबाट ठक्कर दिएपछि केही डिब्बा रेलमार्गबाट तल खसेका थिए । दुर्घटनाका बेला दुवै रेलमा गरी पाँच सयभन्दा बढी यात्रु सवार थिए । ठक्करका क्रममा केही डिब्बामा आगलागीसमेत भएको थियो ।

दुर्घटनापछि उद्धारकर्मीहरूले घाइते यात्रुलाई उद्धार गरी अस्पताल पुर्‍याएका छन् । घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ ।

स्पेनका यातायातमन्त्रीका अनुसार रेलको कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाका सम्भावित कारण हुन् । यद्यपि, घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सम्भावित लापरबाही र सुरक्षा प्रणालीमा रहेका कमजोरीबारे गहिरो अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २०१३ पछि स्पेनमा भएको यो सबैभन्दा घातक रेल दुर्घटना भएको बताइएको छ ।