लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन सुरु

18 Shares

लघुवित्त पीडितहरूले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघरमा सामूहिक आमरण अनशन सुरु गरेका छन्। उनीहरूले मंगलबारदेखि विभिन्न माग राख्दै अनशन थालेका हुन्।लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जाना र अतिरिक्त शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ।लघुवित्त पीडित मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणमाथि शोषण गरेको आरोप लगाउँदै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो। उहाँका अनुसार यसअघि सरकार र लघुवित्त तथा वित्तीय संस्था पीडितबीच भएको वार्तापछि तयार पारिएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन।उहाँले सर्वोच्च अदालतले समेत उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारका नाममा आदेश जारी गरिसकेको भए पनि माग सम्बोधन नभएको दाबी गर्नुभयो।पीडितहरूले विशेष वित्तीय ऐन खारेज गरी मुलुकी आचारसंहितामा आधारित आर्थिक तथा वित्तीय प्रणाली लागू गर्नुपर्ने, साथै वित्तीय तथा सहकारी पीडितलाई ब्याजरहित ऋण उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।ज्ञवालीले भन्नुभयो, “नेपाल राष्ट्र बैंकको निर्देशिकाविपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणलाई शोषण गरेका कारण हामी आन्दोलन गर्दै आमरण अनशनमा बसेका हौँ। विगतमा सरकारसँग वार्ता भएर प्रतिवेदन बने पनि त्यसको कार्यान्वयन हुन सकेन। सर्वोच्च अदालतले प्रतिवेदन कार्यान्वयन गर्न आदेश दिए पनि माग पूरा नभएकाले आन्दोलनमा आउन बाध्य भएका हौँ।”उहाँले माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने चेतावनीसमेत दिनुभयो।