तामाकोशी किनारबाट अवैध बालुवा उत्खनन गर्ने तीन सवारी प्रहरी नियन्त्रणमा

38 Shares

रामेछाप । मन्थली नगरपालिका–१ स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) लोड गरिरहेको अवस्थामा प्रहरीले तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराएको छ।

अवैध रूपमा बालुवा उत्खनन भइरहेको विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको गस्ती टोलीले सोमबार बिहान करिब ८:०० बजे ती सवारी साधन र तिनका चालकहरूलाई तामाकोशी नदी किनारबाटै नियन्त्रणमा लिएको हो ।

नदीजन्य पदार्थको अवैध दोहन तथा ओसारपसार नियन्त्रण गर्ने क्षेत्राधिकार स्थानीय तहको भएकाले प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन र चालकहरूलाई आवश्यक कारबाहीका लागि मन्थली नगरपालिकाको कार्यालयमा बुझाएको थियो। मन्थली नगरपालिकाले स्थानीय तहको वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी मापदण्डअनुसार तीनवटै सवारी साधनबाट कूल ६७ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरेको छ।

कारबाहीमा पर्ने सवारी साधन र चालकहरूको विवरणअनुसार खाँडादेवी गाउँपालिका–४ पकरवास बस्ने ३१ वर्षीय रामचन्द्र कार्कीले चलाएको बा ५ ख ७५७१ नम्बरको मिनीट्रकलाई २२ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, मन्थली नगरपालिका–६ हात्तिटारका ३४ वर्षीय अनिश माझीले चलाएको बा ४ ख ९२४८ नम्बरको ट्रिपरलाई ३० हजार रुपैयाँ र मन्थली–६ कुनौरीका ३० वर्षीय मनिष माझीले चलाएको मधेस प्रदेश ००३ त ९५८५ नम्बरको ट्र्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गराइएको छ।

तामाकोशी तथा आसपासका नदी तटीय क्षेत्रमा हुने अवैध प्राकृतिक स्रोतको दोहन, चोरी निकासी र वातावरणीय विनाश रोक्न प्रहरीले आफ्नो गस्ती र कडा निगरानी जारी राखेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।