नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

19 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाइँदैछ ।

साेही अवसरमा बिहीबार नेकपा एमाले राजधानी प्रदेश कमिटीले एक कार्यक्रमको आयोजना गर्ने भएकाे हाे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने जनाएका छन् । १९८१ साल असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनुभएकाे थियाे । उहाँ शहीद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ ।

पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएकाे थियाे। २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएकाे थियाे ।

नेकपा स्थापना गर्नुअघि १९९८ सालमा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएकाे हाे । नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने उहाँको मत थियो ।

पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।