काठमाडौं । मनसुनजन्य विपद्को पूर्वतयारी कमजोर भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा बुधबार प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्ताव दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले सरकारले मनसुन सुरु भइसक्दा पनि प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाए ।
उनले गत वर्ष मनसुनजन्य विपद्का कारण १४० भन्दा बढी नागरिकको मृत्यु भएको र १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको बताए ।
परियारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमेत नेतृत्वविहीन रहेको भन्दै विपद् व्यवस्थापन प्रभावकारी हुनेमा आशंका व्यक्त गरे ।
‘मनसुन पूर्वतयारी तथा विपद् व्यवस्थापनका विषयमा सरकारको योजना कत्तिको प्रभावकारी छ भन्ने प्रश्न उठेको छ । सरकारलाई अझ जिम्मेवार र संवेदनशील बनाउन हामीले ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हौँ,’ उनले भने ।
उनले पूर्वसूचना प्रणाली, उद्धार सामग्रीको व्यवस्थापन, उद्धारकर्मीको तयारी, बजेट व्यवस्थापन र स्थानीय तहसम्मको समन्वय संयन्त्रबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरे ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाहले जलवायु परिवर्तनका कारण यस वर्ष मनसुनबाट हुने क्षतिको जोखिम अझ बढेको बताइन् ।
सरकारले राष्ट्रिय कार्ययोजना बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
‘अहिले प्राधिकरण नेतृत्वविहीन छ । लगातार वर्षा भइरहेको छ, पहिरो जाने र नदीको जलस्तर बढ्ने क्रम जारी छ । विगतका कमजोरी दोहोरिन नदिन सरकारले आवश्यक तयारी गर्नुपर्छ,’ उनले भनिन् ।
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले पनि बाढीपहिरोको जोखिम बढिरहेका बेला सरकारको तयारी पर्याप्त हुनुपर्ने बताए ।
उनले विपद् कुनै पनि भू–भागमा आउन सक्ने भन्दै देशभर समान रूपमा उद्धार, राहत र पूर्वतयारीको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
‘विपद् जहाँ पनि पर्न सक्छ । विगतमा दुर्गम क्षेत्रमा भएका विपद्लाई पर्याप्त ध्यान नदिएको देखिएको छ । यसपटक सबै क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सरकारको ध्यान जानुपर्छ,’ उनले भने ।
पोर्तेलले काठमाडौंका होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूको सुरक्षाका लागि पनि सरकारले विशेष योजना ल्याउनुपर्ने बताए ।
विपक्षी दलहरूले दर्ता गरेको प्रस्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढेको उल्लेख गरिएको छ ।
सरकारले हरेक वर्ष विपद् आएपछि मात्र उद्धार र राहतमा ध्यान दिने गरेको भन्दै विपक्षी दलहरूले समयमै प्रभावकारी पूर्वतयारी गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गरेको उक्त प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक परियार, नेकपाकी प्रमुख सचेतक शाह, एमाले सांसद पोर्तेल र जसपा सांसद पूजा चौधरीले समर्थन गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया