स्वदेश फर्किने देउवाको घोषणा

12 Shares

काठमाडौं । ६ महिनादेखि विदेशमा बस्दै आउनु भएका नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको बताउनुभएको छ ।

देउवा हस्ताक्षरसहित जारी गरिएको सन्देशमा उहाँले आफू स्वदेश फर्कन लागेको उल्लेख गर्नुभएको छ । देशले अहिले प्रतिशोध नभइ सहकार्य चाहेको दाबी गर्दै सन्देशमा इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता पहिले भन्दा अझ बढी सान्दर्भिक बनेको उल्लेख छ ।

प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्ने भन्दै देउवाले आफू सोही विश्वासका साथ पुनः नेपाली भूमिमा पाइला टेक्न लागेको बताउनुभएको छ ।

वर्तमान परिस्थितिले सबैलाई अझ व्यापक दृष्टिकोण, अझ गहिरो सहकार्य र अझ दृढ राष्ट्रिय संकल्पको आवश्यकता महसुस गराएको भन्दै देउवाको सन्देशमा आज देशलाई विभाजन होइन, एकता चाहिएको उल्लेख छ ।

तर सरकार आफू विरुद्ध प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भन्दै उहाँले वीपी कोइराला जस्तै ब्यक्तिगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई माथि राखेर फर्किन लागेको बताउनुभएको छ ।

गत फागुनमा सिंगापुर जानु भएका देउवा चैतदेखि हङकङमा बस्दै आउनुभएको छ ।